
काठमाडौं, २८ पुस । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्नुभएको छ ।
आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गर्नुभएको थियो । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उहाँहरुले आफ्नो विवाह स्थगित गर्नुभएको थियो ।
लामो समयपछि एक निजी समारोहमा विवाह गर्नुभएको हो । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औं प्रधानमन्त्री बन्नुभएको थियो ।
न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गर्नुभएको हो । विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित हुनुभएको थियो ।
पूर्वप्रधानमन्त्री आर्डर्न र उनका प्रेमी गेफोर्ड २०१४ देखि सँगै हुनुहुन्छ । करिब पाँच वर्षपछि उहाँहरुले इन्गेजमेन्ट गर्नुभएको थियो । उहाँहरुले सन् २०२२ मा विवाह गर्ने निर्णय गर्नुभएको थियो ।
आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्वपूर्ण निर्णय लिनुभएको थियो, जसका कारण उहाँको कामको पनि प्रशंसा भएको थियो । प्रधानमन्त्री पदमा रहँदा उहाँले बच्चालाई पनि जन्म दिनुभएको थियो । आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर जानुभएको थियो । आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।








प्रतिक्रिया