
काठमाडौं, २८ पुस । उपसभामुख इन्दिरा राना मगरले सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेपछि आफूले समाज र देशलाई अझ फराकिलो गरी बुझेको बताउनु भएको छ । लामो समयदेखि समाजसेवा गर्दै आउनुभएकी उपसभामुख मगरले राजनीतिमा प्रवेश गरेपछि करिब एक वर्षको संवैधानिक निकायमा उपप्रमुखको जिम्मेवारी निर्वाह गर्दै अनुभव संगाल्ने क्रममा आफूले देश र देशमा व्याप्त समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताउनुभयो ।
शनिबार नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा उपसभामुख मगरले आफूलाई मन नपर्दानपर्दै पनि राजनीतिमा आएको र संसदमा उपसभामुखको जिम्मेवारी पाएपछि भने आफ्नो जीवनको धेरै कुरामा परिवर्तन आएको अनुभव सुनाउनु भयो । सोही क्रममा उहाँले आफू राजनीतिमा नआएको भए देशको बारेमा धेरै कुरा आफूलाई थाहै नहुने बताउनुभयो । राजनीति बुझ्नलाई राजनीति नै गर्नुपर्ने धारणा राख्नुभएको उहाँले आफू राजनीतिमा प्रवेश नगरेको भए देशको बारेमा धेरै कुरा थाहा नै नपाई मर्ने अनुभव सुनाउनुभयो ।
‘राजनीति भित्र नपसिकन केही पनि कुरा थाहा हुँदैन । भित्र पसिसकेपछि धेरै कुरामा परिमार्जन गर्नुपर्ने देखेँ । बनेकै सिस्टमको पनि राम्रोसँग कार्यान्वयन भएका छैनन्, त्यसैमा पनि दुरुपयोग भएको छ । यी कुरालाई कसरी चिरेर लाने, भ्रष्टाचार, विभेद जस्ता समस्यालाई कसरी चिरेर लाने ? यहाँ आएर मैले धेरै कुरा जानँे । यदी राजनीतिमा नपसेको भए मैले केही पनि नजानी र देशलाई नै नबुझी मर्ने रहेछु जस्तो लाग्छ,’ उहाँले भन्नुभयो । देशमा प्रसाशनिक निकायमा देखिएको आलटाले समस्याले युवामा निराशा पैदा गराएको र शक्तिको दुरुपयोग सत्तामा बस्नेहरुबाटै भइरहेको बताएकी उनले राजनीतिमा सुधारको खाँचो औंल्याउनुभयो ।
‘राजनीतिमा धेरै सुधार हुनुपर्छ । प्रशासनदेखि लिएर प्रहरीसम्म सबैमा सुधारको आवश्यकता छ । हरेक ठाउँमा पीडा, तनाव छ, मानिसहरु पीडित छन् । सबैलाई हामीले सुधारेर लाने र सबैलाई राम्रो वातावरण दिने हो भने हाम्रो देश सुध्रिन धेरै समय लाग्दैन । त्यसका लागि तलबाटै गु्रमिङ गर्दै लानुपर्छ । तर, यहाँ जसको पावर र हालीमुहाली छ, उहाँहरुले नै त्यसको दुरुपयोग गरिहेका छन् भन्ने लाग्छ,’ मगरले भन्नुभयो । राजनीति जनताको आशा अपेक्षा र विकास निर्माणमा केन्द्रीत हुनुपर्नेमा राष्ट्रिय राजनीति नै अलमलमा परेको बुझाइ उहाँको छ । कानून निर्माण गर्ने थलो संसदमा आवश्यकभन्दा पनि स्वार्थ केन्द्रीत गतिविधि र स्टन्टबाजी देखिएको भनाइ उहाँको छ ।
संसदमा किन प्रभावकारी काम हुन सकेन भन्ने प्रश्नमा मगरले भन्नुभयो ‘यहाँ चाहिँ (संसदमा) आफ्नै राजनीतिक पार्टीका मान्छेलाई मात्रै संरक्षण गरिँदो रहेछ । त्यसमा पनि गुटबन्दी हुँदो रहेछ । अनि जहिले पनि आफ्नो राजनीतिक स्टन्ट देखाउनु मात्रै छ । राजनीतिक स्टन्ट देखाएर संसदको सदस्य भएर आइसकेपछि त जनताको लागि काम गर्ने हो नि त, त्यहाँ जनताको आवाज र उनीहरुले उठाएका सवाललाई उजागर गर्ने भन्दा पनि नेताको कुरा सुन्ने, सदनबाट अरुलाई गाली गरेर समय बिताइरहेका हुन्छन् । संसदमा मन नपरेको पक्ष मलाई यही हो ।’
सुन काण्ड, एनसेल सेयर प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता विविध ठूला काण्डमा समेत निर्णयमा पुग्ने गरी संसदमा छलफल, बहस गर्नुपर्नेमा सदनको भूमिका महत्वपूर्ण हुन नसकेको मगरले धारणा राख्नुभयो । ठूला काण्डमा सरोकारवाला संयन्त्रलाई काम गर्न दिने र संयन्त्रले इमान्दार भएर काम गर्ने भन्दा सबै कुरा राजनीति र नेतृत्व वर्गमा गएर रुमल्लिएको उहाँको बुझाइ छ ।
‘सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डदेखि लिएर विभिन्न काण्डहरु आए । त्यो कुरामा लाग्न राज्यले बनाएको संयन्त्र छ, यसमा संसदभित्र निर्णयमा पुग्नेगरि छलफल हुनुपर्यो नि, त्यो गर्नु छैन । समिति बनायो, बुद्धिजिवी राख्यो त्यो पनि वास्तविक विषयको ज्ञाता भन्दा हामीले रिक्त ठाउँ आफ्ना मान्छेले भर्ने काम बाहेक केही गरेकै छैनौं । सिस्टम बनाएपछि त्यसअनुसार सबै चल्नुपर्यो नि । एउटा मान्छेको अधिकार र रिमोटबाट सबै चलेका छन् त्यसरी हुँदैन,’ उहाँले भन्नुभयो ।
संघीयतामा तलसम्म अधिकार दिएर उहीँबाट सबैलाई बलियो बनाएर ल्याउनुपर्ने र संविधानले दिएको हकअधिकार दिन केन्द्रमै भर पर्नुपर्ने अवस्थाको चाँडो अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । संविधानप्रदत्त हक अधिकारका लागि आवश्यक कानून निर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभएकी मगरले बनाएका कानुनको पनि कार्यान्वयन हुन नसक्नु दुःखद भएको उल्लेख गर्नुभयो । अलमलको राजनीतिबाट माथि उठेर संविधान कार्यन्वयनमा लाग्नुपर्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय राजनीति नै अलमलमा छ । संविधान बनायौं कतिपय कुराहरु अझै कार्यान्वयन भएका छैनन् । जस्तो : महिलालाई संविधानको धारा ३८ ले दिएको अधिकारहरुमा कुन चाहिँ कार्यान्वयन भएको छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।









प्रतिक्रिया