१६ असार २०८३, मंगलबार

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. पुन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २८ पुस । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कनुभएको छ । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लाग्नुभएको हो ।

प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा पुनले बताउनुभयो । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका डा. पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसक्नुभएको छ । “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौँ”, उहाँले भन्नुभयो, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।”

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताउनुभयो । उहाँका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

पुनले काठमाडौंबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गर्नुभएको छ । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको डा. पुनको आरोप रहेको छ । “बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारसँग पैसा नभए पनि कारखाना संचालन गर्ने जिम्मा लिएका हौँ ।”

देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं पुग्ने योजना रहेको डा. पुनले जानकारी दिनुभयो । “राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।”

यतिदिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भन्नुभयो, “जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।” उहाँका अनुसार हालसम्म २४ हजार पुस्तक बिक्री भइसकेका छन् । करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको डा. पुनले बताउनुभयो । तनहुँका विभिन्न पालिका र सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् ।