
गुल्मी, २८ पुस । नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीले तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबारबाट पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता र उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको विशेष आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । तम्घासमा भएको प्रशिक्षण कार्यक्रमको समापन पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको छ ।
बैठकमा १२ जना प्रशिक्षकले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । करिब २०० जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बालसिंह काउछाले गर्नुभएको थियो ।
प्रशिक्षणमा महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद र दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभार, उपमहासचिव ज्ञवालीले मार्क्सवादी विश्वदृष्टिकोण र समाज रूपान्तरण, जिल्ला इन्चार्ज थापाले पार्टीको आजको प्रचार कार्य, सूचना प्रविधि र राजनीतिक संचारको महत्वबारे प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी, दिनेश पन्थीले कम्युनिष्ट शैली, पद्दति र अनुशासनको महत्व, रचना खड्काले पार्टी संगठन निर्माण, सञ्चालन र व्यवस्थापन, कमलराज श्रेष्ठ र मोडरेटर जंग नेपालीले गुल्मी जिल्लाको विकासमा पार्टीको नेतृत्वदायी प्रयास र भूमिका, गणेश खनालले राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, बद्री खनालले राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, बालसिंह काउछाले गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलन- विगत, वर्तमान र भविष्य, राजेन्द्र अर्यालले राजनीतिक शब्द परिचय र फर्शु पाण्डेले उद्यम र उद्यमशीलता तथा आर्थिक अनुशासनको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, शुक्रबार तम्घासमा भएको जिल्ला कमिटीको बैठकले २०८० साललाई प्रशिक्षण वर्षमा सदुपयोग गर्ने संकल्प गरेको एमाले गुल्मीले जनाएको छ । बैठकमा हालसम्मका १५ वटा जिल्ला, पालिका र सम्पर्क मञ्चसमेतको तहमा आयोजित प्रशिक्षण शृङ्खलाको समीक्षा गर्नुका साथै माघ र फागुन महिनाभरिमा ९३ वटै वडामा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको एमाले गुल्मीका इन्चार्ज सूर्य थापाले जानकारी दिनुभयो ।










प्रतिक्रिया