
काठमाडौं, २८ पुस । शुक्रबार राति दाङको भालुवाङमा भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको निधन भएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो । प्रगतिवादी साहित्यमा समर्पित उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्थ्यो ।
हाल उहाँ मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य हुनुहुन्थो । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उहाँको बस दुर्घटनामा परी निधन भएको हो ।
२०१७ असोज ८ गते रुपन्देहीमा जन्मनुभएका उहाँ २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय हुनुहुन्थो ।
उहाँका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थियो ।
उहाँले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गर्नुभएको थियो । उहाँले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाउनुभएको थियो ।








प्रतिक्रिया