२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २८ पुस । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल निर्विरोध निर्वाचित हुनुभएको हो ।

साधारणसभाको पहिलो दिन शुक्रबार साँढे छ बजेसम्मका लागि तोकिएको उमेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा मल्लको मात्रै उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन उपसमितिले उमेदवारी दर्ताका लागि शुरुमा ४ बजेसम्मका लागि समय तोेकेको थियो । सहकारी महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुने अवसर मल्लले पाउनुभएको छ ।

महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष बन्नु भएकी मल्ल महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुनु भएको हो । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल मल्ल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक रहनु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत रहेका पोखरेल महासंघको सञ्चालक, उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष हुनु भएको हो ।

खुल्ला तर्फको २ जना उपाध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ । खेम बहादुर पाठक, डि.बी.बस्नेत र शेषकान्त गौतमको उमेदवारी परेको निर्वाचत समितिले जनाएको छ । महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै ७ प्रदेश मध्ये सुदुरपश्चिम प्रदेश बाहेक छ वटै प्रदेशका सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।

कोशी प्रदेशबाट छत्र प्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भु प्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिममा माधव प्रसाद जोशी र प्रेम सिंह भाटको उमेदवारी परेको छ । ५ जना महिला सञ्चालकमा हुमा कुमारी जि.सी.(अञ्जु), योगमाया सुवेदी, एकता शाह, कमला कुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ । ४ जना खुल्ला सदस्यका लागि बद्री प्रसाद लम्साल, प्रेम प्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्ण बहादुर खत्री र सञ्जय कुमार शाहको उमेदवारी परेको छ ।

केन्द्रीय संघ र सहकारी बैंकका तर्फबाट निर्वाचित हुने ३ जना सञ्चालकहरुमा टेक प्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेदवारी परेकाले उहाँहरु पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम प्रसाद तुलाचन तथा सदस्यहरुमा अम्मरनाथ न्यौपाने र हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । २ जना उपाध्यक्षका लागि ३ जना, खुल्ला सदस्यमा ४ जनाका लागि ६ जना र सुदुरपश्चिम सञ्चालकमा १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएको र अन्य सबै पदमा आवश्यक संख्यामा मात्र उमेदवारी परेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचन उपसमितिले शनिबार बिहान १० बजेसम्मका लागि उमेदवारी फिर्ताको समय तोकेको छ । तोकिएको समयसम्म सहमति नभएमा ५ पदका लागि निर्वाचन हुने जनाइएको छ ।