
कैलाली, २७ पुस । उपप्रधान एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनैपनि काम नगरेको दाबी गर्नुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भएपनि मध्यमस्तरको काम भने गरिरहेको बताउनुभयो ।
‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताकाबिच छलफल हुने नै छ’, उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।’
आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताउनुहुँदै उहाँले पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उहाँको भनाइ थियो ।
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने उल्लेख गर्नुभयो ।
सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो ।








प्रतिक्रिया