१४ असार २०८३, आइतबार

अन्तरधार्मिक आयोग गठन गर्न माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । संघीय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग भेटेर अन्तरधार्मिक आयोग गठन गर्न प्रस्ताव गरेको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटपछिको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै ‘अन्तरधार्मिक आयोग’ गठन गर्न मन्त्री किरातीसँग माग गरेका हुन् ।

छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नुपर्ने बताउँदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि भएको बताउनुभयो ।

मन्त्री किरातीले आफू देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउनुहुँदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसँग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउनुहुँदै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना कुरा राख्न सुझाव दिनुभयो ।

मन्त्री किरातीले विविधता नेपालको सम्पत्ति र सुन्दरता रहेको भन्नुहुँदै मध्यपहाडी क्षेत्रमा बहुसांस्कृतिक महारेखाको अवधारणा अघि सार्ने भन्दै निकट भविष्यमा मन्त्रालयले सांस्कृतिक सम्मेलन गर्ने जानकारी दिनुभयो ।

छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाय, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा. नरेन्द्र पाण्डे, डा. पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेतीलगायत विभिन्न आठ धार्मिक समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।