
काठमाडौं, २६ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गर्नुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
१२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गर्नुहुँदै उहाँले त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्याप्त छलफल गरेर यो निर्णयसम्म पुगेका छौं । हामी आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छाैं । यो सम्भव छ । यो हामीसँग ठोस कार्यनीति छ ।’
मन्त्री बस्नेतले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिनुभयो ।
२५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उहाँको भनाइ छ । उहाँले भन्नुयो, ‘दीर्घकालीन विद्युत व्यापार नेपाल र भारत बीचमा २०१४ मै सम्झौता भएको थियो । आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत भारत निर्यात गर्नेछ । कसरी गर्ने, कुन रेटमा गर्ने के गर्ने भन्नेबारे दुई देशबीच संयन्त्र छ । यो २५ वर्षसम्मको लागि छ । तर १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने छ ।’
उहाँले विद्युत देशमै खपत गर्न पुगेको छैन किन निर्यात भन्ने प्रश्न उठ्ने गरेको भन्दै देशमा खपत भएर बचेको विद्युतमात्र निर्यात गर्ने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।









प्रतिक्रिया