
काठमाडौं, २६ पुस । सत्ता गठबन्धनले टिआरसी विधेयकलाई पूर्णरूप दिन प्रमुख प्रतिपक्षी दल एमालेको ग्रीन सिग्नल कुरेको जनाएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताउनुभयो ।
बिहीबार बिहान सिहंदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि गठित उपसमितिको प्रतिवेदनसहित भएको छलफलका क्रममा सत्ता गठबन्धनले टिआरसी विधेयकलाई अन्तिम रुप दिन राजनीतिक सहमति जुटाउन प्रयास गरिरहेको जानकारी दिनुभएको हो ।
अबका आठ–दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइने उहाँको भनाइ छ । समितिमा प्रमुख प्रतिपक्षी समेत रहेको नेकपा एमालेले (टिआरसी) लाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेको थियो । समितिको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उक्त प्रस्ताव राख्नु भएको हो ।
‘यि विषयहरू हामी सहमतिमा टुंग्याउन सक्छौं, यदी भएन भने बिल निर्माणको आफ्नै प्रक्रिया छ । प्रक्रियामा हामी र हाम्रा भनाइहरु रहन्छन् । यो कुरा म फेरि पनि भन्न चाहन्छु’, उनले भने । अघिल्लो बैठकमा पनि बर्तौलाले सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा कुरामा जोड दिनु भएको थियो ।
विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तर त्यसमा एमालेले अवरोध नगर्ने बर्तौलाको धारणा थियो । एमालेले टिआरसीबारे अवरोध गरिराखेको छ भनेर प्रचार नगरिदिन पनि बर्तौलाले आग्रह गर्नुभयो । ‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ’, उहाँले भन्नुभयो । आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले देश, जनता, पीडित र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्ने आग्रह गरे । टिआरसीको विषय साझा भएको उहाँको बुझाइ छ ।
तर, विधेयकमा स्पष्ट पारिनुपर्ने चारवटा विषयमा थप छलफल र स्पष्ट नपारी आफूहरु पूर्ण सहमत हुन नसक्ने धारणा बतौंलाले राख्नुभयो ।
कांग्रेस मुख्य सचेतक रमेश लेखकले टिआरसीमा ढाँट्टा ढाँट्दा लाज लाग्न थालेको भन्दै गरेको व्यंग्यलाई लक्षित गर्दै मन्त्री गुरुङले भन्नुभयोे, ‘माननीय सदस्यहरुले भन्नु भएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाग्छ,’ मन्त्री गुरुङले थप्नुभयो, ‘सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म ।’
छलफलका क्रममा एमालेको तर्फबाट राखिएका विषयहरु सुनिसकेपछि कानूनमन्त्री गुरुङले टिआरसी विधेयक पास हुनेमा बलियो सम्भावना बढेर गएको धारणा राख्नुभयो ।
उनले आठ–दश दिन जति राजनीतिक नेतृत्वसँग अनौपचारिक छलफल गरेर विधेयकसहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताउनुभयो । एमाले सचेतक बर्तौलाको धारणापछि हौसिनुभएका मन्त्री गुरुङले एमालेको ग्रिन सिग्नल पाउना साथ विधेयकलाई अन्तिम रुप दिनेतर्फ जोड दिनुभयो ।
बर्तौलाले ‘फकाइ–फकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टाको शैलीमा भनेपछि मन्त्री गुरुङले जवाफ दिदै भन्नुभयो,‘अन्तिमसम्म प्रयास गरौं । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैंले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’








प्रतिक्रिया