१५ असार २०८३, सोमबार

आचरण विपरित कार्य गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद : डा. शर्मा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताउनुभएको छ ।

आवासीय चिकित्सक डा.  विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा.शर्माले कानुनी उपचारमा जाने बताउनुभएको हो ।

‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ डा.शर्माले भन्नुभयो, ‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ?’

शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो । उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण बिग्रिएको डा. शर्माको भनाई छ ।

डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारवाही गरिएको भन्नुहुँदै एक महिना पछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताउनुभयो । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिन भन्छ भने कारवाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो । एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौं विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौं ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्नुहुँदै डा. शर्माले भन्नुभयो ।

डा.शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्नुहुँदै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको उहाँको जिकिर थियो । केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक डा. दाहालले दैनिक रुपमा आन्दोलन गर्दै आइरहनुभएको छ । उहाँलाई केएमसीले प्रवेशमा रोक लगाएको थियो ।