
काठमाडौं, २५ पुस । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ ।
मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेरिएका हुन् ।
मन्त्रालयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहनुभएका डीआईजी कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखकारुपमा सरुवा गरेको छ ।
त्यस्तै, मन्त्रालयले कोशीको प्रहरी प्रमुखमा चन्द्रकुबेर खापङलाई सरूवा गरेको छ । उहाँ यसअघि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत हुनुहुन्थो ।
त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रहरी प्रमुखमा विकासराज खनाल, कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रविन्द्र केसीलाई सरुवा गरिएको छ ।
मन्त्रालयले डीआईजी बुद्धिराज गुरूङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डीआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डीआईजी भरतबहादुर बोहरालाई तानेको छ ।
त्यस्तै, डिआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिनुभएको छ भने डीआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिनुभएको छ ।
त्यस्तै, डीआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान तानिनुभएको छ भने डीआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ ।









प्रतिक्रिया