
काठमाडौं, २४ पुस । सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस मुलुकका लागि आवश्यक भएपनि यसको खरिद प्रक्रियामा सरकारी अधिकारीहरु इमानदार नभएको आरोप युवाहरुले लगाउनु भएको छ ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँहरुले मुलुकलाई आवश्यक प्रणाली खरिदमा सरकार पारदर्शी हुननसक्दा भ्रष्टाचार बढेको टिप्पणी गर्नुभएको हो । डा.निकोलस भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रणालीमा व्यापक घोटाला भएको दावी गर्नुभयो ।
सरकारका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको उहाँको भनाइ छ । टेरामक्स खरिद प्रक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको अवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई रोक्न चाहिरहेको उहाँले दावी गर्नुभयो ।
सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि समेत ४ अर्ब बुझाइ सकिएको उहाँले बताउनुभयो । प्रिन्टिङ प्रेस नेपालमाल्याएर राखिएको र काम विदेशका अन्य कम्पनीलाई दिइएको उहाँको भनाइ छ ।
इन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस आवश्यक रहेको बताउनुभयो । एमडीएमएस मार्फत फोनहरुलाई कन्ट्रोल नगरे विभिन्न अपराधहरुले बढावा पाउने उहाँको दाबी छ । टेरामक्स टेलिकम्युनिकेसनका लागि एकदमै आवश्यक रहेको उहाँको भनाइ छ । पारदर्शिता, राजस्व र कल डिटेल, नेटवर्क मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
युवा वैज्ञानिक कपील पौडेल, अभियन्ता एसके तिमिल्सिना, डा.सागर ढकाल लगायतले सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएसको आवश्यकताबारे प्रष्ट पार्नुभएको थियो ।









प्रतिक्रिया