
काठमाडौं, २४ पुस । अन्तर्राष्ट्रिय उडानमा सुरक्षा सम्परीक्षणमा सफल ठहर भएको हिमालय एयरलाइन्सले कानून मानेर अगाडि बढ्दा पनि नेपाल सरकारबाट अपेक्षित सहयोग नपाएको जनाएको छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हवाई सेवा कम्पनी सञ्चालन निकै गाह्रो काम भएको बताउनुभयो । कानूनले सेल्फ ग्राउन्ड ह्याण्डलिङ वायु सेवा कम्पनी आफैंले सञ्चालन गर्न पाउने अवस्थामा पनि सम्बद्ध निकायले असहयोग गरेको गुनासो उहाँले गर्नुभयो ।
‘नेपालमा एयरलाइन्स कम्पनी चलाउनु जतिको गाह्रो विषय सायद अरु कुनै छैन होला भन्ने लाग्छ । हामी लाइसेन्स होल्डर भएको र नेपालको तल्लो तहसम्मको कानूनले पनि हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने भनेर दिएको अधिकार पनि प्रयोग गर्न नपाएको अवस्था हो,’ उहाँले भन्नुभयो, ‘हामीले धेरै सरकारी पक्षहरुसँग वर्षौसम्म लिखित, मौखिकमा सबै प्रकारको ताकेता गर्दा पनि कानुनले दिएको अधिकार उपभोग गर्न नपाएको कारणले गर्दा यो विषयलाई सर्वोच्च अदालतमा निवेदन दिएर प्रक्रियाभित्र बसेको छ । सेल्फ ग्राउन्ड ह्यान्डलिङलाई नेपालको संविधानभित्र बसेर आफ्नो अधिकार पाउने प्रयासलाई अगाडि बढाइरहेका छौं ।’
वायु सेवा सञ्चालनमा धेरै प्रकारकाजोखिम आउने भएकाले सुरक्षा व्यवस्थापन गतिलो नभए दुर्घटनामा परिने उहाँको भनाइ छ । ‘मानव शरीरमा जसरी प्रतिरक्षा शक्ति हुन्छ त्यसैगरी सुरक्षा व्यवस्थाले पनि काम गर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले हामी आयोसा (इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन)को परीक्षाबाट पास भयौं, जुन व्यवस्था हामीले राखेका छौँ र आएकाको अडिटरहरुले राख्नु भएको छ । त्यसलाई हामीले पूर्ण रुपमा पालना गरेको छ भन्ने कुरा प्रमाणित गरेर सबै प्रक्रियालाई अगाडि बढाउनु पर्छ ।’
आयोसा अपरेटरका रुपमा दर्ता हुन पाउने नेपाली वायु सेवामा हिमालय पहिलो हो । आयोसाको अन्तर्राष्ट्रिय उडानमा सुरक्षा सम्परीक्षणमा सफल ठहर हुनु एउटा काम मात्रै नभएको उहाँले बताउनुभयो । ‘यो चलिरहने प्रक्रिया हो, हामीले हाम्रो रजिस्ट्रेसनलाई कायम राख्ने हो भने यसलाई निरन्तरता दिनुपर्छ ।’ उहाँले आयोसा अपरेटरको मान्यता पाउनुमा हिमालय एयरलाइन्स नीति नियममा चलेकाले सम्भव भएको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया