
काठमाडौं, २४ पुस । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत जानुभएको छ ।
उहाँ आज ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली जानुभएको हो । उहाँ दिल्लीबाट गुजरात जानुहुनेछ । यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख)सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा नेपालको प्रतिनिधित्व गर्दै डा.महत भारत जानुभएको हो ।
डा.महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा.महतले समिटमा आफ्नो विशेष प्रस्तुति दिने र भारतीय उद्योगीहरुसँग भेट गर्ने क्रार्यक्रम छ । उहाँ शुक्रबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
१०औं संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उदेश्य राखिएको छ ।
सन् २००३ देखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो ।
यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।
समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा.महतको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।








प्रतिक्रिया