१६ असार २०८३, मंगलबार

आर्थिक मन्दीको प्रभाव : मन्थली नगरपालिकाको आन्तरिक आम्दानीमा कमी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २४ पुस । आर्थिक मन्दीको प्रभाव स्थानीय तहसम्म परेको छ । आर्थिक मन्दीको कारण स्थानीय तहका आम्दानीका स्रोतमा कमी आएको हो । चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि रामेछापको मन्थली नगरपालिकाका आन्तरिक आम्दानीका स्रोतहरू ठेक्का लाग्न सकेका छैनन् । जसले गर्दा नगरपालिकाको आन्तरिक आय सुक्दै गएको छ ।

भदौ–असोज महिनामा नै ठेक्का लाग्नुपर्ने मन्थली नगरपालिकाको आम्दानीको सबैभन्दा ठूलो स्रोत ढुङ्गा, गिटी, बालुवाको पुस बित्न लाग्दा पनि ठेक्का लाग्न सकेको छैन् । तामाकोशी र सुनकोशी नदी किनारको ढुङ्गा, गिटी र बालुवा मन्थली नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । तर अहिलेसम्म त्यसको ठेक्का नलागेको मन्थली नगरपालिकाले जनाएको छ । प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदन (एआई) रिपोर्ट अनुसार ढुङ्गा, बालुवा निकाल्न मिल्ने क्षेत्र पहिचान गरी नगरपालिकाले टेण्डर आह्वान गरेको छ ।

नगरपालिकाले हालसम्म तीन पटक भन्दा बढी सूचना प्रकाशन गरे पनि ठेक्का नलागेको योजना अनुगमन उपशाखाका शाखा अधिकृत उज्वल पोखरेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाले यसै वर्ष जिम्मा लिएको तीनलाल पार्क समेत ठेक्कामा लाग्न सकेको छैन् । नगरपालिकाले पटक पटक सूचना प्रकाशित गरेको भएपनि सो पार्कको लागि कसैले ठेक्का हालेका छैनन् । झण्डै सात करोड लागतमा निर्माण भएको सो पार्कमा महिला, पुरुष र बालबालिकाको लागि छुट्टाछुटै स्विमिङ पुल, जिल्लाकै ठूलो सभा हल, गार्डेन, प्रशासन भवन, किचेनसहितका संरचना छन् ।

यसैगरी मन्थलीको आकाशेमा रहेको व्यावसायिक भवन समेत भाडामा लाग्न सकेको छैन् । ६ वटा सटर भएको सो भवन भाडामा लगाउन सूचना जारी भएपनि कसैले आवेदन गरेका छैनन् । कूल ४ करोड ३० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाका ठूला आयोजना नै ठेक्का नलागेपछि लक्ष्यमा पुग्न कठिन देखिएको छ ।