
विराटनगर, २४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको बताउनुभएको छ । हस्तान्तरण हुने भएपछि त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन माघ १५ गतेभित्र गर्ने प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतयारीमा लाग्नुको विकल्प छैन’ उहाँले भन्नुभयो, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नुहोस् ।’
बजेट कार्यान्वयनका लागि द्रूत्त गतिमा मन्त्रालयको काम अगाडि बढाउन निर्देशन दिनुहुँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भए जनतासम्म सरकार पुगेको महसुस हुने बताउनुभयो ।
‘विपद् जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपदव्यवस्थापनको अगाडि बढाउनुहोस्,’ उहाँले भन्नुभयो, ‘नक्साङनपछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । बस्ती व्यवस्थापन गर्न सकिन्छ ।’
मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङकन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको जानकारी गराएका थिए ।








प्रतिक्रिया