
काठमाडौं, २३ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्तासँग सरकारले गरेका राम्रा काममा सघाउन आग्रह गर्नुभएको छ ।
सरकारको नेतृत्व गरेर आफूले राम्रा कामहरु अघि बढाएको भन्दै उनले माओवादीका नेता कार्यकर्तासँग त्यसमा सहयोग माग्नुभएको हो । सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै उहाँले पार्टी विधानको मस्यौदा तयार भएको खुलाए । छिटै स्थायी समितिको बैठक बोलाएर विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पार्टी विधानको मस्यौदा तयार भएको छ। छिटै स्थायी समितिको बैठक बस्छौं र विधान तल्ला कमिटीहरूमा पठाउने निर्णय गर्छौं । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ। यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।’
प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष दाहालले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको धारणा राख्नुभयो । नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको बताउँदै उहाँले त्यो २१ औं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट पार्नुभयो ।
‘आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ। बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘आजबाट त्यसको थालनी भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ। यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो ।’
सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिहरूको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउन लागेको उहाँको भनाइ छ । ‘हामीले २१ औं शताब्दीको जनवादमा भनेका थियौं– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफंैमा त्यसको एक रूप हो,’ उहाँले भन्नुभयो । उहाँले सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने बताउनुभयो ।








प्रतिक्रिया