
काठमाडौं, २३ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले मापदण्ड तयार नभएसम्म सम्बद्ध क्षेत्रका विद्यार्थीलाई क्याम्पमा पठाउने काम स्थगित गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा उहाँले काठमाडौं मेडिकल कलेजमा भएको समस्या समाधान गर्नको लागि चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको जानकारी दिनुभयो । उक्त कार्यदलले मापदण्ड तयार नगरेसम्म विद्यार्थीहरुलाई फिल्ड पठाउने कार्य स्थगित गर्ने निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘आवासीय चिकित्सकहरुलाई कलेजले आवश्यकभन्दा बढी बाहिर काम लगाउने, फिल्ड भिजिटमा लाने, काम गराउने गरेको विषयको सन्दर्भमा नीतिगत मापदण्ड तयार गर्नको लागि चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको छ । त्यसले एउटा नीतिगतमार्गदर्शन तयार गर्छ, त्यो तयार भइसकेपछि मात्रै त्यसपछि फिल्डमा पठाउने, कतिदिन पठाउने, वर्षको कति दिन क्याम्प गराउने सबै कुराहरु त्यसमा आउँछ ।’
कलेजले निलम्बन गरेका विद्यार्थी डा.विशद दाहालको निलम्बन फिर्ता गरेर पठनपाठन सुरु गर्नका लागि पनि आग्रह गरेको जानकारी उहाँले समितिलाई गराउनुभयो । ‘काठमाडौं मेडिकल कलेजले निलम्बन गरेका विद्यार्थी डा. विशद दाहालको निलम्बन फिर्ता गरेर पठनपाठन सुचारु गर्नको लागि हामीले आग्रह गर्ने धारणा बनायौं र त्यहीअनुसार डिनको कार्यालयले कलेजलाई पत्र दिएको छ, त्यही पत्रलाई कार्यान्वयन गर्नु भन्न चाहन्छु ’ उहाँले भन्नुभयो ।
यस्तै, सहमतिमा कलेज सञ्चालन गर्नको लागि काठमाडौं मेडिकल कलेजका विद्यार्थीसँग छलफल गरेको पनि उहाँले बताउनुभयो । विद्यार्थी पक्षले मान्ने हो भने सहमतिमा कलेज नियमित गराउन छलफल भइरहेको पनि उहाँको भनाइ छ ।
बैठकमा समिति सभापति भानुभक्त जोशीले मंगलबारसम्म पनि सकारात्मक कुरा नआए समितिमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी अथवा काठमाडौं मेडिकल कलेजका पदाधिकारीहरुलाई बोलाएर फेरि छलफल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सचिवले भोलिसम्म प्रतिवेदन आउने कुरा गर्नुभएको छ । सकारात्मक कुरा आएन भने समितिमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी अथवा काठमाडौं मेडिकल कलेजका पदाधिकारीहरुलाई बोलाएर फेरि छलफल गर्ने छौं ।’









प्रतिक्रिया