
काठमाडौं, २३ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बीच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गर्नुभएको थियो ।
त्यसअघि उहाँहरुबीच सामाजिक संजालमा नोकझोँक चलिरहेको थियो । हिजोआज उहाँहरुको दोस्ती जमेको छ । जब उहाँहरूबीच पहिलो भेट भयो दुवैले विकास र सहकार्यका विषयमा छलफल गर्नुभयो । त्यसयता बालेन र हर्कबीच बाक्लै उठबस चलिरहेको छ । हरेक पटक काठमाडौं उत्रिएपछि हर्कको सेड्युलमा बालेनसँगको भेट छुट्दैन् ।
स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेर विजयी हुनु भएका उहाँहरुबीचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ । १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा बालेनको उपस्थितिले धरानबासी आश्चर्यमा परे । हत्तपत्त सार्वजनिक कार्यक्रमहरुमा नदेखिने बालेन धरान पुग्नुलाई रोचक एवं अर्थपूर्ण रुपमा हेरिएको छ । दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अर्थ्याउने गरेका छन् ।
नेपालमा पुराना र स्थापित भनिएका राजनीतिक दल र संघीय सरकारप्रति आक्रमक अभिव्यक्ति दिंदै आउनुभएका हर्क र बालेनले नयाँ दल खोल्नुभयो भने अनौठो मान्न नहुने विश्लेषक एवम लेखक लाओस राई बताउँनुहुन्छ । ‘दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु अनौठो होइन तर सिद्धान्त र दिगोपना प्रमुख कुरा हो ।
बालेन र हर्कसँग जनमत होला तर नेपालको राज्य व्यवस्था र अहिलेको परिपाटीसँग जुधेर कसरी अघि बढ्न सक्छन् भन्ने कुरा प्रमुख हो,’ उहाँ भन्नुहुन्छ । उपमहानगरको निम्तोमा पहिलो पटक धरानको सार्वजनिक कार्यक्रममा उत्रिएका बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंशा गर्नुभएको थियो । साथै उहाँले हर्कले जारी राखेको श्रमदानलाई विकास निर्माणसँग जोडेको प्रशंगलाई तारिफ गर्नुभएको थियो । कतिपय कानुन, नीति, नियम र ऐनको ख्याल समेत नगरी परिवर्तनका लागि उत्रिएका बालेन र हर्कको हालको केमेष्ट्रीलाई २०८४ सालको निर्वाचनसम्म नयाँ दलका रुपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ ।
हुनत स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरुले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई समेत समेटेर नयाँ दल खोल्नेबारे धेरै गोप्य बैठक हुनेगरेपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपी, कतिपय विश्लेषकहरुले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।









प्रतिक्रिया