२८ असार २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचनमा एमालेले भाग खोजेको छैन्, गलत प्रचार भयो : राजन भट्टराई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (एमाले)का नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफूहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता पक्षसँग कुनै भागबण्डाको सौदावाजी नगरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थालाई लिएर सत्ता गठबन्धन दलमा गरेको छलफललाई एमालेले राष्ट्रिय सभा निर्वाचनमा सौदावाजीको राजनीति गर्न खोज्यो, एमालेले भाग खोज्यो भनेर गलत तरिकाले प्रचार गरेको उनको दाबी छ ।

एमालेले सौदावाजीको राजनीति नगर्ने बताउँदै एक टेलिभिजनसँगको कुराकानीमा नेता भट्टराईले भने, ‘राष्ट्रिय राजनीतिका वर्तमान अवस्थालाई ध्यानमा राखेर त्यो अनुसारको गर्न खोजिएको कुरा एउटा अर्थ हुन्छ । भागबण्डाको नाममा भन्ने कुरा गरेर सौदावाजी गर्‍यो एमालेले भन्ने कोणबाट एमाले त्यस्तो गर्ने पक्षमा छैन, लिँदैन ।’

साथै, उनले एमालेले टिआरसी विधेयक छिटोभन्दा छिटो टुंगियोस् भन्ने चाहेको बताए । टिआरसी विधेयकलाई लिएर एमालेले कुनै सत्ताको सौदावाजी नगर्ने उनको भनाइ छ ।

एमाले सर्वोच्च अदालतको फैसला, अन्तराष्ट्रिय मान्यता र पीडितले न्याय पाउने कुराबाट विमुख नभइ शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भन्नेमा प्रष्ट रहेको र त्यसबाट दायाबाँया हुन नसकिने उनले बताए ।

‘एमाले टिआरसी विधेयक छिटोभन्दा छिटो टुंगिनुपर्छ, तर त्यसमा सर्वोच्च अदालतले गरेका फैसला, अन्तराष्ट्रिय रुपमा मापदण्ड छ शान्ति प्रक्रिया टुंग्याउने, ती प्रक्रियालाई पूरा गर्ने कुराहरु, जो पीडित छन्, पीडितले न्याय पाउने कुरा दायाबाँया नभइ टिआरसी विधेयक टुंगिनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यो मान्यतालाई तलमाथि हुन दिँदैनौं,’ नेता भट्टराईले भने ।