
काठमाडौं, २१ पुस । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक (एकीकृत बाह्रौँ) शुक्रबार सम्पन्न भएको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश कमिटीमा १२ जना सदस्य मनोनीत गरेको छ भने पदाधिकारी, विभाग प्रमुख र जिल्ला इन्चार्जसमेत गरी १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद् पनि गठन गरेको छ ।
त्यसैगरी बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ भने प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गरेको छ । यस क्रममा नौवटा विभाग गठन गर्नुका साथै एउटा कार्यदल बनाएको छ । वार्षिक कार्ययोजना अन्तर्गत जिल्ला कमिटी र इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गर्ने, प्रदेश र इलाका स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, मासिकरूपमा अन्तर्क्रिया आयोजना गर्ने लगायत रहेका छन् । बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेको छ भने ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी राज्य पक्षबाट भएको गोली प्रहारको निन्दा र भर्त्सना गरेको छ ।
बैठकले राज्यलाई हानि नोक्शानी पुर्याउने गरी भएको भनिएको एनसेल विक्री प्रकरणको पनि विरोध जनाएको छ । बैठकमा पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले कमिटीको कामलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएकी थिइन् । इन्चार्ज शाक्यले उपत्यकामा विभिन्न पेशा व्यवसायमा रहेका पार्टी सदस्यहरूको कमिटी यस विशेष प्रदेश कमिटीको मिसन–२०८४ सफल पार्न विशेष भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू बीना श्रेष्ठ, गोविन्द दुवाल, सीता लामा र बालिका गिरीको अतिथिका रूपमा उपस्थिति रहेको बैठकमा प्रदेश कमिटीका अध्यक्ष प्रेम कुमार पराजुलीले प्रदेश कमिटीमा मनोनयन, सदस्यहरूको कार्य विभाजन लगायत छलफलका विषय सूचि प्रस्तुत गरेका थिए भने सचिव मिलन धरेलले बैठक सञ्चालनका साथै सांगठानिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
त्यसैगरी उपाध्यक्ष विदुर कार्कीले प्रदेश कमिटीको प्रथम अधिवेशनको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपसचिव उर्मिला सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
उपत्यका विशेष प्रदेश कमिटीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पका पीडितहरूको उद्धार, अस्थायी आवास निर्माण लगायत सहयोगका लागि पार्टी केन्द्रले खटाएको स्वयंसेवक टोलीमा आफ्नो सहभागिता जनाएको थियो । सो अनुसार जाजरकोटमा गएको टोलीले जाजरकोटको अति दुर्गम र दलितवस्ती रहेको नलगाड र जिउरीमा ८७ वटा घरटहरा ९जस्तापाता प्रयोग गरी० निर्माण गरी भूकम्प पीडितहरूलाई हस्तान्तरण गरेको थियो । बैठकमा उपत्यकाको तर्फबाट स्वयंसेवक टोलीको संयोजन गरेका प्रकाश भट्टराईले जाजरकोटमा स्वयंसेवक परिचालनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी पार्टीले गत २०८० मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रामा उपत्यका विशेष प्रदेशको उत्साहजनक सहभागिता रहेको थियो । उपत्यका विशेष प्रदेश कमिटीले केन्द्रले तोकेको बागमती प्रदेशअन्तर्गत नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गाको हर्कपुरसम्म सहभागिता जनाएको थियो । स्वयंसेवकको रूपमा झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मै महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका उपसचिव जितेन्द्र श्रेष्ठले बैठकमा समृद्धि यात्रा प्रतिवेदन प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया