
काठमाडौं, २० पुस । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ।
नेपाल टेलिकमका सेवालाई सेवाग्राहीसमक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्ने टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ।
दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुने बताइएको छ। बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ।
यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने जनाइएको छ।








प्रतिक्रिया