७ असार २०८३, आइतबार

धार्मिक पर्यटकको विस्तारको योजना बनाउँ : सांसद एकनाथ ढकाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । संघीय सांसद एकनाथ ढकालले पर्यटनको प्रबर्द्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकुल असर पार्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले नेपाल पर्यटन बोर्डको मुख्य काम नेपाल सरकार र निजि क्षेत्रको समन्वयनमा देश भित्र र बाहिर पर्यटनको प्रबर्द्धन गर्ने हो भन्दै पर्यटन “ट्रयाक टू डिप्लोमेसी” भएको धारणा राखे । ढकालले विदेशमा नेपालको पर्यटनको प्रबर्द्धन गर्दा देशको प्रतिष्ठाको पनि अभिवृद्धि हुनु पर्ने बताए । ढकालले सन् २०२३ मा लक्ष्य अनुसारको संख्यामा पर्यटक नेपाल ल्याउन सफल देखिए पनि प्राथमिकता निर्धारणमा भने कमजोरी रहेको औल्याए ।

सांसद ढकालले सन् २०२३ मा नेपाल आएका दश लाख भन्दा बढी पर्यटक मध्य आठ प्रतिशत मुस्ताङ जिल्ला पुग्दा पनि मात्र सात प्रतिशतले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुले हाम्रो पर्यटन प्रबर्द्धनको प्राथमिकतामा कमजोरी रहेको बताए । ढकालले नेपालमा धार्मिक पर्यटकको बिस्तारको योजना बनाउदा बुद्धिस्ट र हिन्दु पर्यटकका आवश्यकतालाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

ढकालले पर्यटन बोर्डलाई प्रविधि मैत्री बनाउन सुझाव दिए । उनले पर्यटन बोर्ड र विभागलाई मर्ज गर्ने, निजि कम्पनीको रुपमा सञ्चालन गर्ने भन्ने जस्ता विषय चर्चामा आएकोमा बोर्डको धारणा माग गरे । ढकालले नेपाललाई “कन्फेरेन्स भेन्यु” को रुपामा विकास गर्नु पर्ने, शान्ति पर्यटनको विकास गर्नु पर्ने र साना पर्यटन व्यवसायीहरुलाइ प्रबर्द्धन गर्नु पर्ने समेत धारणा राखे ।

सांसद ढकालले पर्यटन धेरै ल्याउने भन्दै जस्तोसुकै पनि पर्यटक ल्याउने नीति भने हुनु हुँदैन भने । ढकालले पर्यटन बोर्डले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबिटीकिउआइ)लाई पर्यटन प्रबर्द्धनको प्राथमिकतामा राख्दा धार्मिक पर्यटकलाई कति असर पर्छ भन्ने बारे सचेत हुन पनि आग्रह गर्दै यस्ता बहानामा मित्र राष्ट्र भारत र चीनबाट नेपाल आउने पर्यटकलाइ निरुत्साही नबनाउन पनि बोर्डको ध्यानाकर्षण गराए । ढकालले पर्यटन बढाउने नाममा विकृति बढ्नु हुन्न भन्दै पर्यटक बढ्छ भनेर गाजा बजार खोल्ने ? भन्दै प्रश्न गरे ।

सांसद ढकालले पर्यटनको प्रबर्द्धन गर्दा नेपालको सामाजिक र पारिवारिक मूल्यमान्यता खण्डित हुन दिन नहुनेप्रति पनि बोर्डको ध्यानाकर्षण गराए । ढकालले बोर्डमा पारदर्शिता र सुशासन कायम हुनु पर्ने बताए ।