
काठमाडौं, २० पुस । नेकपा (एमाले)का नेता तथा पूर्वगृहमन्त्री भीम रावलले भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजना सञ्चालन गर्न पाउने सहमतिको विरोध गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै रावलले बिहीबार सरकारले गरेको सहमतिको विरोध गरेका हुन् । रावलले उक्त सहमतिको सशक्त रूपमा निन्दा र विरोध गर्न अनुरोध समेत गरेका छन् ।
‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफूखुशी २० करोडका आयोजना सञ्चालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग भएको छ । नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौं !’ नेता रावलले भनेका छन्, ‘यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन । यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !’

बिहीबार काठमाडौंमा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुवै मुलुकका सम्बन्धित निकायका पदाधिकारीहरूले भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजना सञ्चालन गर्न पाउने सहमतिको पत्र आदान प्रदान गरेका थिए ।








प्रतिक्रिया