१७ असार २०८३, बुधबार

किसानको उत्पादनले बजार नपाए सरकार आफैँ खरिद गर्न तयार छ : मुख्यमन्त्री पाण्डे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किसानले उत्पादन गरेका उत्पादित कृषिजन्य वस्तुले बजार नपाए प्रदेश सरकार आफै खरिद गर्न तयार रहेको बताएका छन् ।

गोरखा चेम्बर अफकर्मसको आयोजनामा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्वन मेला–२०८०’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनले बजार नपाए अब प्रदेश सरकारले किनिदिने बताएका हुन् ।

“तपाईँहरु के उत्पादन गर्नुहुन्छ गर्नुस्, बजार पाउनु भएन भने प्रदेश सरकार किसानले गरेका उत्पादन लिन तयार छ”, उनले भने, “किसानले गरेको उत्पादनलाई बजारको व्यवस्था गर्न पनि हामी तयार छौँ, बजार र किसानबीच समन्वय गरेर भएन भने प्रदेश सरकार आफैले किसानको उत्पादन किनिदिन्छ ।”

उनले उत्पादनका आधारमा अनुदान उपलब्ध गराउन र बजारीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोडभन्दा बढी रकमको व्यवस्था गरेको समेत बताए । कृषिमा अनुदान सुरुमा लिने र त्यसको दुुरुपयोग हुने गरेको भन्दै अहिले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान दिने नीति लिएको मुख्यमन्त्री पाण्डेले बताए ।

उनले प्रदेश सरकारले बनाएको कानुनका कारणले उद्योग, कृषि व्यवसायलगायतमा अफठ्यारो परेको भए सरकार त्यसलाई परिमार्जन गरेर अघि बढ्न तयार रहेको समेत बताए । मुख्यमन्त्री पाण्डेले गाउँमै जनतालाई बस्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले प्रदेश सरकारले गाउँमा बाटो, बिजुली र स्वास्थ्यचौकी पुगेपछि गाउँ छाडेर हिँड्ने क्रम बढेको भन्दै गाउँमै आत्मानिर्भर हुने गरी कार्यक्रम ल्याउन प्रदेश सरकार लागिपरेको बताए ।