२४ असार २०८३, बुधबार

सत्ता टिकाउन आफ्नो हितलाई राष्ट्रिय हित भनी अपव्याख्या गर्ने प्रयास : प्रदीप ज्ञवाली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आजको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलापलाई फरक हिसाबले अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा बीपी चिन्तन प्रतिष्ठानले बुधबार आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलापको सान्दर्भिकता’ विषयको विचार गोष्ठीमा बोल्दै ज्ञवालीले भूराजनीतिक अवस्थालाई ख्याल नगर्नाले कुनै पनि राष्ट्र कुनै पनि बेला खतम हुने स्थिति आउने बताए ।

त्यसको पछिल्लो उदाहरण युक्रेन भएको उनले उदाहरण दिए । त्यसैले नेताहरू सत्ता केन्द्रित भन्दा पनि राष्ट्र हितको विषयमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । ‘फुकी फुकी कदम चाल्नु पर्ने अवस्था छ, होइन भने थोरै पनि उग्रता र असावधानीले के हुन्छ भन्ने कुरा बुझ्न हामीले टाढा जानै परेन, युक्रेन हाम्रो सामु छ’, उनले भने ।

अहिले केही दल र व्यक्ति सत्ता टिकाउन आफ्नो हितलाई राष्ट्रिय हित भनेर अपव्याख्या गर्ने प्रयत्नमा रहेको उनले बताए । ‘कतिपय नेताहरू, कतिपय सरकार प्रमुखहरू सत्ता टिकाउनका लागि आफ्नो हितलाई राष्ट्रिय हित भनेर अपव्याख्या गर्दै गइरहेको अवस्था छ, हाम्रो राष्ट्रियतामा नयाँ ढङ्गको जोखिम बढिरहेको छ’, उनले भने ।

सत्ता स्वार्थका लागि राजनीतिक दलबीच एकता र गठबन्धन भइरहेको छ वा सत्ता स्वार्थको लागि भइसहेको छ भन्ने कुरामा ख्याल गर्नुपर्ने उनले बताए । राष्ट्रका लागि केही गरौँ भन्ने सोचका साथ राष्ट्रिय एकता आजको सन्दर्भमा आवश्यक रहेको उनले प्रष्ट पारे । नेपालको लोकतन्त्रले राजाबाट बारम्बार धोका खाएकोले अब राजतन्त्रको बहसको अर्थ नभएको उनले बताए । अब गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र भएको ज्ञवालीले प्रष्ट पारे । ज्ञवालीले राष्ट्रिय एकता र मेलमिलापको जग जहिले पनि जनता केन्द्रित हुनुपर्ने बताए । उनले राष्ट्रियताको आधार नै जनता भएको बताए ।

उपमहासचिव ज्ञवालीले बीपीले राष्ट्रिय मेलमिलापका आधार नेपाली जनतालाई बनाउन नसक्दा उनको मेलमिलापको नीतिले त्यति बेला कुनै उपलब्धि पाउन नसकेको बताए । व्यवस्था परिवर्तनको लागि पछि गणेशमान सिंहले कांग्रेस र बाममोर्चा मिलाएर २०४६ को आन्दोलन सफल गराएको उनले स्मरण गराए । पुष्पलालले बारम्बार राजनीतिक दलका बीचमा मेलमिलाप गरेर जाऊँ भन्दा बीपीले नटेरेको उनले बताए ।

बीपीले सधैँ राजासँग मात्र एकता गर्न चाहेको तर राजनीतिक दलसँग मेलमिलाप, एकता र सहकार्य गर्न नचाहेको ज्ञवालीको धारणा छ । परिणाम स्वरूप पञ्चायत १० वर्ष लम्बिएको उनले बताए । बीपीका धेरै सकारात्मक पक्ष हुँदा हुँदै पनि संयुक्त जनआन्दोलनको मामलामा उनी चुकेको ज्ञवालीको भनाइ छ । नेताहरूले काम गर्दै जाँदा गल्ती हुने बताउँदै ज्ञवालीले बीपी पनि त्यहाँ चुकेको बताए । यसरी वस्तुनिष्ठ भएर विश्लेषण गर्दा बीपी सानो नहुने उनले स्पष्ट पारे । ‘प्रजातन्त्र स्थापना गर्ने मामलामा बीपीको स्टाटेजि सफल भएन’, उनले भने ।