
काठमाडौं, १८ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले सरकारमा हुँदा हरेक क्षेत्रमा केही न केही सकारात्मक परिवर्तन भएको र अहिले सम्पूर्ण ठप्प भएको बताएका छन् ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले नेपाली हुँ भन्ने गर्व गर्ने अवस्था एमाले सरकारको पालामा भएको बताएका हुन् ।
नेपालको हितको पक्षमा छिमेकी मुलुकसँग पनि पारवहन सन्धिदेखि धेरै काम भएका उनले स्पष्ट पारे । पूर्वाधारको क्षेत्रमा त छलाङ नै मार्ने काम भएको उनले उदाहरण प्रस्तुत गरे । एमालेलाई सिध्याउने योजना अनुसार पार्टी भित्र र बाहिरबाट पार्टी नै विभाजित गरेर एमालेको सरकार ढालिएको उनको भनाइ छ । ति सबै षडयन्त्रकाविरुद्ध एमाले डटेर उभिएको उनले स्पष्ट पारे ।
अहिले गठबन्धन चुनाव जितेपछि जसरी पनि पाँच वर्षको लागि उभिनु पर्छ, जनतासँग गरिएको प्रतिबद्धता केही पनि होइनन् भन्ने हिसाबले लागेको महासचिव पोखरेलले बताए । एमाले अहिले जनताको रोजाइको पहिलो पार्टी भए पनि मुलुकको आवश्यकताको हिसाबले एमालेको सामथ्र्य अझै कमजोर रहेको उनको धारणा छ ।
अर्को प्रशंगमा उनले एमालेले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणाली विकास गरेको बताए । नागरिकले सहज जीवनको लागि आमस्वतन्त्रताले मात्र सक्दैन भने राज्यले संरक्षण गर्नुपर्छ भनेर एमालेले प्रणाली विकास गरेको बताएका हुन् ।









प्रतिक्रिया