
दाङ, १८ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले राप्ती नदीमा र्याफटिङ गरेका छन् । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङ भएर बग्ने राप्ती नदीमा मंगलबार मन्त्री मास्कीले र्याफटिङ गरेका हुन् ।
केहीदिनअघि र्याफटिङको सफल परीक्षण भएपछि मंगलबार आफूले पनि र्याफटिङ गरेको उनको भनाइ छ ।

मन्त्री मास्कीले प्रदेश राजधानीमा आउने १२ वटै जिल्लामात्रै नभई बाहिरी देशबाट आउने पर्यटकहरुलाई पनि भित्र्याउन यसले भूमिका खेल्ने बताए । “प्रदेश राजधानी भएपछि यस क्षेत्रमा रमाउने ठाउँहरु पनि चाहिन्छ”, उनले भने “राजधानीको शीरमा रहेको देवीकोटमा प्याराग्लाइडिङ र राप्ती नदीमा र्याफटिङ सुरु भएमा यसले राजधानीको शोभा बढाउनेछ ।”
दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले शुक्रबार र शनिबार र्याफटिङको सफल परीक्षण गरेको थियो । परीक्षण सफल भएसँगै आगामी माघदेखि व्यवसायिक रुपमा सुरु गर्ने तयारी रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । राप्ती र गढवा गाउँपालिकाको पहलमा र्याफटिङ सञ्चालनमा ल्याउने गरी तयारी गरिएको उनको भनाइ छ । राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्याफटिङ सञ्चालन गर्न सकिने गरी परीक्षण भएको छ ।
गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्याफटिङ परीक्षण गरिएको थियो ।
कर्णाली र्याफटिङ एण्ड एण्डभेन्चर प्रालिले राप्ती नदी क्षेत्रको चकचके–बड्डाँडा, बडडाँडा–भालुवाङ, भालुवाङ–सिसहनिया र सिसहनिया–लमहीसम्म र्याफटिङ सञ्चालनको अध्ययन गरिसकेको छ ।








प्रतिक्रिया