
काठमाडौं, १६ पुस । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
३७ वर्षीय वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन् ।
वार्नरले पाकिस्तानविरुद्धको अन्तिम टेस्ट खेलअघि सोमबार पत्रकार सम्मेलनमा भने, ‘म पक्कै पनि एकदिवसीय क्रिकेटबाट पनि सन्यास लिइरहेको छु । यो कुरा मैले विश्वकपको समयमा भनेको थिएँ, यसलाई पार गरेर भारतमा जित्नको लागि । मलाई लाग्छ यो ठूलो उपलब्धि हो । त्यसैले आज सन्यास लिने निर्णय गर्छु । यसले मलाई विश्वका केही अन्य लिगहरूमा खेल्न अनुमति दिनेछ ।
वार्नरले अस्ट्रेलियालाई दुई पटक विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनी सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप विजेता टोलीको हिस्सा रहेका थिए । उनी हालै सम्पन्न २०२३ को विश्वकपमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि थिए । उनले २२ शतकसहित ४५.३० को औसतमा ६,९३२ रन बनाएका छन् ।
वार्नर अस्ट्रेलियाका लागि टी-२० क्रिकेटमा भने उपलब्ध हुनेछन् । उनले यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा सहभागी हुने विश्वास व्यक्त छन् ।








प्रतिक्रिया