
काठमाडौं, १६ पुस । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीको कारण बालकुमारीमा घटना घटेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले शुक्रबार मन्त्रीको गाडी प्रदर्शनको भीडमा नआएको भए घटना नहुने बताएका हुन् । उनले मन्त्रीको गाडी बालकुमारी आएपछि प्रदर्शनकारीहरू उग्र बनेको बताए ।
उनले मन्त्रीको सुरक्षाका लागि प्रहरी बल प्रयोग गरिएको पनि उल्लेख गरे । ‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ महानिरीक्षक कुँवरले भने ।
गत शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएको थियो । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवाहरुको ज्यान गएको थियो ।








प्रतिक्रिया