
लमजुङ, १३ पुस । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा बिहीबारदेखि ३१औँ राष्ट्रव्यापी फुबटल खुल्ला त्रिवेणी कप सुरु भएको छ । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रंगशालामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा आयोजक क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले खेलकुदको माध्यमबाट मुलुक समृद्ध बनाउन सकिने बताए । त्रिवेणी रंगशालाको स्तरोन्नति र समग्र जिल्लाको विकासका लागि आफूले भूमिका खेल्ने उनको भनाइ थियो ।
पौडेलले खेलकुदको माध्यमबाट जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सक्ने भएकाले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय प्रदेश र संघ सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आफूले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले त्रिवेणी रंगशालाको स्तरोन्नतिका लागि वर्सेनी सहयोग गर्दै आइरहेको भन्दै पालिकामा बजेट कम भएकाले उल्लेखनीय काम गर्न भने नसकिएको जनाए ।
क्लबका अध्यक्ष राजकुमार घिमिरेले क्लब स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष पुस १२ गतेदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आइएको बताए । उनका अनुसार काठमाडौं, पोखरा, चितवन, तनहुँसहितका २१ समूहको सहभागिता रहेको छ ।
खेलअवधि भर ६० हजार बढी दर्शक आउने अपेक्षा गरिएको क्लबका अध्यक्ष घिमिरेले बताए । आयोजकका अनुसार यस प्रतियोगितामा प्रथम हुनेले नगद रू आठ लाखसहित प्रमाणपत्र र कप प्राप्त गर्नेछन् । दोस्रो हुनेले रू चार लाखसहित प्रमाण पत्र र सान्त्वना हुने दुई समूहले रू एक/एक लाख र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद रू २०/२० हजार दिइने छ ।















प्रतिक्रिया