सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

लिखु तामाकोशीको सातै वडामा सिम्युलेटर उपकरण प्रयोग सम्बन्धी प्रशिक्षण

दैनिक नेपाल २०८० पुष ९ गते ८:०१

रामेछाप, ९ पुस । डिजिटल प्राथमिक स्वास्थ्य सेवा विस्तार परियोजना अन्तर्गत रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सातै वडामा रहेका सामुदायिक स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न नवजात चिकित्सा सिम्युलेटर उपकरण प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जापानी एलकम कम्पनीले निर्माण गरेको सो उपकरणको प्रयोगबाट मृत जन्म भएका शिशु तथा नवजात मृत्युलाई उपचार कसरी गर्ने भन्ने बारे जापानी चिकित्सकहरुले प्रशिक्षण दिएका थिए । स्वाथ्य मन्त्रालयको संयोकत्वमा स्वास्थ्य विभागमा समेत नेपालमा यस उपकरण प्रयोग सम्बन्धी सेमिनारको योजना गरिएको थियो ।

यसैगरी, परियोजना अन्तर्गत लिखुका विद्यालयहरुमा प्राथमिक उपचार तालिम कार्यक्रम सञ्चालन गरिएको छ । अरुणोदय माध्यमिक विद्यालय सैपुका विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिइएको थियो । यो कार्यक्रम १८ महिनासम्म जारी रहनेछ ।

यसैगरी, लिखुका ७ वटै सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि पनि दुई दिने आधारभूत स्वास्थ्य सेवा तालिम सम्पन्न भएको छ । तालिममा मातृ शिशु, गर्ववती महिलाहरुको हेरचाह, दीर्घ रोग तथा दीर्घ रोगीहरुको केयरका लागि आवश्यक ज्ञान तथा शरीरको तापक्रम नाप्ने विधि, रक्तचाप (ब्लड प्रेसर) मापन विधि, नाडीको दर मापन विधि, श्वासप्रश्वासको दर मापन विधि लगायत महत्त्वपूर्ण चिन्ह सम्बन्धी आवश्यक प्रशिक्षण दिइएको थियो ।

डिजिटल प्रविधिको प्रयोग गरी प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य अनुरुप आशा जडान मोबाइल एप्स सम्बन्धी तालिम समेत सम्पन्न गरिएको थियो । सबै सामुदायिक स्वास्थ्यकर्मी कर्मचारीहरुलाई मोबाइल एप्ससहितको मोबाइल सेट, रक्तचाप नाप्ने उपकरण, तौल नाप्ने उपकरण, थर्मामिटर जस्ता मापन उपकरण समेत वितरण गरी कार्यको शुभारम्भ समेत गरिएको छ ।

उक्त परियोजना लिखु तामाकोशी गाउँपालिकाको सहकार्यमा गणेश उज्ज्वल स्मृति प्रतिष्ठानले जापानको एनपीओ आशासँगको साझेदारीमा १८ महिनासम्म सञ्चालन गर्नेछ । परियोजना सकिएपछि सामग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।

गणेश उज्जन स्मृति प्रतिष्ठानका अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष केशव महत, एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निन्, प्रोजेक्ट प्रबन्धक ताकाको मोरिता, एलेकम कम्पनीको सीइओ कोता हादासहित १० सदस्सीय जापानी टोलीको सहभागी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित