
काठमाडौं, ८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताएका छन् ।
एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्रीसँगको भेटमा आफू सो कुरा राखेको बताएका हुन् । यस विषयमा सरकारलाई लिखित रूपमा नै ध्यानाकर्षण गराउने ओलीले जानकारी दिए ।
काम कसले गर्यो भन्ने कुरा प्रमुख नहुने भन्दै ओलीले काम भयो कि भएन भन्ने कुरा प्रमुख भएको बताए । त्यसैले मध्यपहाडी लोकमार्गको बाँकी काम सरकारले तत्काल गर्नुपर्नेमा उनले जोड दिए । नेपालको विद्युत् कसैले किन्छ कि किन्दैन, नेपालको कृषि उत्पादन कसैले लिन्छ कि लिँदैन भन्ने भन्दा पनि अहिले उत्पादन कसरी गर्ने र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने विषय प्रमुख विषय रहेको ओलीले बताउनुभयो । ‘दुईचार जना सत्ता पक्षका लगानी कर्ता बाहेककाको त भागारेभागको अवस्था छ त’, ओलीले भने ।
नेपालले अहिले बजार खोज्ने बेला भई नसकेको ओलीले बताउनुभयो । यतिबेला औद्योगिकीकरण र त्यसको लागि वातावरण बनाउने तर्फ नै सोच्नु पर्ने ओलीको भनाइ छ । ओलीले नेपालका छिमेकीले बिना आग्रह नेपालको विकासमा सहयोग गर्नुपर्ने बताए । बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नु पर्ने अध्यक्ष बताए।
नेपालको प्राथमिकता र आवश्यकतालाई प्राथमिकतामा राखेर जसले सस्तो र बढी सहयोग र लोन दिन्छ ऊसँग लिनु पर्नेमा उनले जोड दिए । यस्ता कुरामा केन्द्रित नभएर सत्ता केन्द्रित भयो भने देशको राजनीतिक स्थायित्व, स्थिरता र स्वाभिमान जोगाउन नसकिने ओलीले स्पष्ट पारे । सत्ता केन्द्रित भएर होइन सार्वभौमसत्ता राष्ट्रको हिसाबले सबै छिमेकी र सहयोगी राष्ट्रलाई हेर्नुपर्नेमा उनले जोड दिए ।















प्रतिक्रिया