१० कार्तिक २०८३, मंगलबार

सयपत्री र सुन्तलाबाटै मध्यपहाडलाई मालामाल बनाउन सकिन्छ: विष्णु रिमाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस। नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताएका छन् ।

एमालेले मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै रिमालले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल र कृषि उत्पादन तथा पशुपालनमा नै जोड दिनु पर्ने उनले बताए। किसानको कृषि र पशु बिमा गरिदिने र उत्पादन खरिद गर्ने जिम्मा राज्यले लिइदिने हो भने मध्यपहाडमा कृषिमा व्यवसायीकरण गर्न सकिने उनको भनाइ छ । ‘यति गर्‍यो भन्ने कृषि व्यवसायीकरणमा जान्छ, यही नै समस्या अहिले मध्यपहाडको कृषिमा देखिएको छ’, उनले भने।

मध्यपहाडको सयपत्री फूल र सुन्तलालाई मात्रै बजारीकरण गर्ने हो भने पनि त्यहाँको जीवनस्तरमा आमूल परिवर्तन गर्न सकिने उहाँको ठम्याइ छ । ‘सयपत्री र सुन्तलाले बजार पाउने हो भने त यी मान्छे मालामा हुन्थे नि, त्यो त व्यवहारले पनि देखाएको छ’, रिमालले भने ।
गाउँबाट बाहिर गएका युवालाई गाउँमा नै बस्न आकर्षण गराउनु अहिलेको प्रमुख चुनौती रहेको रिमालको भनाइ छ । मधेश र चुरेमा सडक पुग्ने बित्तिकै बजारीकरण भएको भए पनि पहाडमा भने अझै बजारीकरण हुन नसकेको उनले बताए । त्यसैले पहाडामा बजारीकरण र औद्योगीकरण आजको आवश्यकता रहेको उनले बताए । ‘यी माल बिक्न थाल्नासाथ मान्छे अन्त जाँदैनन्, उद्यमशीलतातर्फ युवालाई डोर्‍याउन सकिन्छ, यसले बसाइसराइ र विदेश जाने लहर रोक्न सकिन्छ’, उनले भने।

बाटो र बिजुली पुगेपछि मानिसमा चेतना बढेको र गाउँ सहर जस्तो भएको उनको धारणा छ । यससँगै राम्रो विद्यालय र अस्पताल पनि गाउँमा चाहिने उनको भनाइ छ । त्यति भयो भने मात्र गाउँमा मानिस बस्ने उहाँले प्रष्ट पारे । त्यसैको लागि एमालेले स्वास्थ्य बिमा र हरेक गाउँमा अस्पतालको अवधारणा अघि सारेको उपमहासचिव रिमालले बताए। तर अहिलेको सरकारले त्यसको बजेट कटौती गरेर काम ठप्प गरेको भन्दै उनले आपत्ति जनाए ।

यात्राको क्रममा पहाडका स्कुलमा विद्यार्थीसंख्या अति न्यून देखिएको बताउँदै उहाँले त्यसको पनि कारण र विकल्प खोज्नुपर्ने उनको जोड छ । गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिएर उद्यमशीलताको अवसर सिर्जना गर्ने हो भने मध्यपहाड बसोबासको हिसाबले अति उपयुक्त हावापानी भएको भूमि भएको उनले बताए ।

विकास सहरबाट गाउँ पस्ने तर मानिस गाउँबाट सहर पस्ने र सहरबाट पनि विदेश पस्ने कुराको कारण खोजी त्यसलाई रोक्नु पर्छ भन्ने भन्ने मूल उद्देश्य लिएर यात्रा आरम्भ गरिएका उनको भनाइ छ। पुष्पलाल लोकमार्ग एमालेको सोचको मार्ग भएको उनले स्पष्ट पारे। एमालेले सो लोकमार्गको अवधारणा बनाउँदा लोकमार्ग भित्र १० वटा सहर बनाउने र ती मध्ये केहीलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेको उहाँले सुनाउनुभयो । ‘ती सहर बने कि बनेनन्, नबनेका भए किन बनेनन्, त्यसको कारण खोज्ने पनि यात्राको उद्देश्य थियो’, उनले भने।
मध्यपहाडमा कृषिको व्यवसायीकरण सम्भावना र अवस्था कस्तो छ, कृषिमा व्यवसायीकरण भइरहेको छैन भने किन हुन सकेको छैन भन्ने कुराको खोजी गर्नु पनि यात्राको उद्देश्य रहेको उनले बताए।

सांस्कृतिक एकता नै राष्ट्रिय एकता हुने भएकोले त्यसलाई जोड् र पार्टीलाई स्थानीय तहका जनतासम्म जोड्न पनि यात्रा सञ्चालन गरिएको उहाँको भनाइ छ । नेपालमा बलियो राष्ट्रिय शक्ति नबनी लोकतन्त्र र प्रणाली पनि जोगाउन नसकिने कुरालाई आत्मसाथ गरेर नै एमालले यो यात्रा सञ्चालन गरेको उनले प्रष्ट पारे । यात्राको क्रममा ३० वटा जिल्ला पार गर्दा ३० भन्दा बढी सांस्कृतिक विशेषता पहिचान गर्ने अवसर मिलेको उनले बताए । धेरै मानिसले यो यात्रालाई पदयात्रा भनेका भए पनि त्यो पदयात्रा नभएर गाडीकै यात्रा भएको उनले बताए ।
साथै समृद्धिको लागि संकल्प यात्रा चुनावी सभा जस्तो पनि नभएको उनले बताए। ‘हामी जनतालाई भेट्न चाहन्थ्यो, जनतासँग कुरा गर्न चाहन्थ्यो, हामीले भनेकै थियौँ एमालेको लस्कर हिँड्छ, लस्करलाई भेट्न बाटाभरि मानिसहरू बस्छन्’, उनले भने ।

पहिला पहिला कार्यक्रममा जनतालाई उतार्न धेरै मेहनत गर्नुपरेको भए पनि यस पटकको यात्रामा पार्टीले कुनै मेहनत नगरेको उहाँले प्रष्ट पारे । ‘हामीले आह्वान मात्र गर्‍यो, लाखौँको सङ्ख्यामा नागरिकले साथ दिनुभयो, यस अर्थमा हाम्रो कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको छ’, उनले भने । यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा गरिएको उनले जानकारी दिए । ती हरेक सभाका आफ्ना विशेषता रहेका रिमालले बताए । जाडोको समयमा छाता ओढेर पनि मानिसहरू अध्यक्षलाई सुन्न बसेका उनले सुनाए। त्यस्तै रातको १० बजेसम्म मानिसहरू पर्खिएर बसेका उनले बताए ।

नेपालको राजनीति इतिहासमा सिङ्गो पार्टी यसरी नागरिकका कुरा सुन्न पूर्वदेखि पश्चिमसम्म हिँडेको यो पहिलो अभियान भएको उनले बताए । ‘हामी प्रत्येक जनतासँग भेट्ने हिसाबले हिँड्यौँ, २५ लाख भन्दा बढी जनतलो हाम्रो अध्यक्षले प्रत्यक्ष परोक्ष रूपमा भेटे, नेताहरूलाई ग्राउण्ड जिरोबाट नेपाल परिचय गराउने र जनतालाई समग्र एमालेको नेतृत्व कस्तो छ भन्ने चिनाउने यी दुवै कायमा हाम्रो यो यात्राले गराएको छ’, उनले भने।

यात्रामा एमालेको सरलता र शालीनता पनि जनताले बुझ्न पाएका उनले बताउनुभयो । नेताहरूले जनताको घरमा र सामूहिक रूपमा सुत्नेदेखि, जनताले बनाएको मेसमा खानेसम्मका अति सकारात्मक र गौरवपूर्ण काम भएका उनले बताए । त्यस्तै पार्टी अध्यक्षदेखि चालकसम्म एउटै ठाउँमा सुतेर समभाव विकास गर्न पनि यात्राले सहयोग गरेको उनले सुनाए