
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारबाट सुरु हुँदैछ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।
जनकपुरको तिरहुतिया गाँछीमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर लगायत केन्द्रीय पदाधिकारी सहभागी हुने छन् ।
सम्मेलनमा इतर समूहका नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला आज प्रदेश सम्मेलनमा सहभागी नहुने र उनी निकट नेताहरुले सम्मेलनको बहिस्कार गर्ने बताइएको छ ।
मधेश प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि कोइराला निकट नेताहरूले बुधबार बसेको प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए । बैठकमा नेता शेखर कोइरालाको वरियतालाई लिएर विवाद उत्पन्न भएको थियो ।
कांग्रेस मधेश सम्मेलनमा प्रदेशका ८ वटै जिल्लाबाट ८ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । सम्मेलनको बन्द सत्र शुक्रबार महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने बताइएको छ ।











प्रतिक्रिया