सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

दैनिक नेपाल २०८० पुष ५ गते ७:२०

काठमाडौं, ५ पुस । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताए ।

उनले भारतमा देखिएको संक्रममण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए ।

“अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए । उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमणको रोकथाम खोपले गर्ने बताए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित