
काठमाडौं, ४ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले अरूले सपनामा पनि देख्न नसकेको मध्यपहाडको करिब १८ सय किलोमिटर लामो संकल्प यात्रा एमालेले पार गरेर देखाएको बताएका छन् ।
एमालेले आयोजना गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सन्दर्भमा कुरा गर्दै ढकालले केपी ओलीको केवल सपना मात्रै हो भन्नेलाई अध्यक्षकै नेतृत्वमा यात्रा पूरा गरेर जवाफ दिएको बताएका हुन् । ‘मान्छेहरूको बुझाई यो केपी ओलीको सपना मात्रै हो, यत्रो कहाँ हिँड्न सक्नु हुन्छ, उहाँले कसरी नेतृत्व गर्न सक्नु हुन्छ भन्ने एउटा बुझाई मानिसहरूको छँदै थियो, यो अविरल यात्राको नेतृत्व केपी ओलीले जुन ढङ्गले गर्नुभयो, दुनियाँ त्यसैमा तीनछक परेको छ’, उनले भने ।
समाजमा उठेका विभिन्न खालका प्रश्नको पनि यो यात्राले जवाफ दिएको ढकालले बताए। राजनीतिक दलका गतिविधि कम हुँदा पुर्नउत्थानवादी शक्तिहरू हाम्रा दिन आएकी भनि आशावादी हुन लागेको बेला यो यात्राले उनीहरूलाई थला पारिदिएको ढकालको दाबी छ । संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र माथि जुन खालको प्रश्न उठाउने प्रयत्न गरिएको थियो, यात्राले त्यसलाई चिरेको र अन्त्य गरेको उनको भनाइ छ । पुराना दल प्रति जनताको आकर्षण छैन भन्ने भ्रमलाई पनि यात्राले चिरेको उनले स्पष्ट पारे ।
‘पुराना दल प्रति जनताको आकर्षण छैन भन्ने समाजमा भ्रम सिर्जना गरिएको थियो, विकास र समृद्धिको मुद्दा बोकेर अगाडि बढ्नु पर्छ, पुराना दलहरू इतिहास भएका, योगदान भएका दलले नै जनताको मनोविज्ञानको नेतृत्व गर्न सक्छन् भन्ने कुरा पनि यस पटकको हाम्रो भ्रमणबाट स्थापित गरेका छौँ’, उनले भने ।
यो यात्राबाट एमालेलाई पुनर्जीवन प्राप्त भएको उनको दाबी छ । कतिपय असन्तुष्टि र कुरा काट्नेलाई पनि यो अभियानमा लागिनँ भने म छुट्ने भएँ भन्ने परिस्थिति सिर्जना गरेको ढकालले बताए । ‘नेकपा एमाले प्रति यत्रो घेराबन्दी हुँदा, सत्तामा नहुँदा र अरू शक्ति एक ठाउँमा हुँदा यो यात्रापछि भन्न सकिन्छ कि एमालेले पुनर्जीवन प्राप्त गर्यो, एमालेको जीवनमा यो नयाँ रिचार्ज भयो’, ढकालले भने ।
एकताबद्ध र अखण्डित एमाले बनाउन यात्राले थप मद्दत गरेको उनको भनाइ छ । विकासका निम्ति, समृद्धिका निम्ति के गर्नुपर्ने रहेछ भन्ने आधार पनि यात्राले तयार गरेको उनले बताए । त्यस्तै नयाँ विकासको आयमा कोर्न यो यात्राले सहयोग गरेको ढकालको धारणा छ । यात्राको क्रममा जनताले अति धेरै माया र सम्मान जाहेर गरेको ढकालले बताए ।
यस पटकको उत्सवमा मानिसहरू तिहारमा दाजुभाइलाई सिँगार्न जत्तिकै माला बनाउन समर्पण भावले लाग्नुले पनि नागरिकको एमाले पार्टी अध्यक्ष र पार्टी प्रतिको लगावलाई प्रमाणित गरेको उनले दावी गरे ।मुलुकमा सामाजिक एकता र सद्भाव कायम गर्न पनि यात्रा सफल भएको ढकालले बताए । त्यसको दृष्टान्तको रूपमा सांस्कृतिक कार्यक्रम र सत्कारलाई हेर्न सकिने उनको भनाइ छ।
दिउँसो बोलाइएको सभामा रातीसम्म पनि कुनै गुनासो नगरी नागरिकहरू बसेको ढकालले सुनाए। यसले जनता र पार्टीको सम्बन्ध जोडेको उनले स्पष्ट पारे ।















प्रतिक्रिया