२ कार्तिक २०८३, सोमबार

मनहरीमा जंगली हात्तीको आतंक

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ४ पुस । मकवानपुरको मनहरीमा जंगली हात्तीले आतंक मच्चाएको छ । बुधबार बिहान २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्तीमा जंगली हात्तीले ३ घरमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय बुद्धि राईको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको एक साइडको भित्ता भत्काएको छ भने नारायण श्रेष्ठको घरको सटरमा क्षति पुर्‍याएको छ ।

यसैगरी नयाँबस्तीकै मंगलसिंह थिङको भान्सामा राखेको एक बोरा धान र एक बोरा चामल खाएको छ ।

यसअघि सोमबार जंगली हात्तीले मनहरी ८ सिम्पानीका टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घर पूर्णरूपमा क्षति पुर्‍याएको थियो भने रामबहादुर तामाङको गोठ पनि आंशिकरूपमा क्षति पुर्‍याएको थियो । दुवै घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रबाट रातको समयमा आउने जंगली हात्तीले यहाँ दुःख दिने गरेको स्थानीयको भनाइ छ । यसअघि अघिल्ला वर्षहरुमा पनि निकुन्जका जंगली हात्तीले सो क्षेत्रमा क्षती पुर्‍याउने गरेको थियो ।