
विराटनगर, ३ पुस । नेकपा (एमाले)ले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ ।
केहिदिनअघि मध्यपहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा अभियान सकेको एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको हो ।
विराटनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडीपछि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौँ । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ महासचिव पोखरेलले भने ।
हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने पछि तोकिने उनले बताए ।
महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए । यात्राका क्रममा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको महासचिव पोखरेलको भनाइ थियो ।
एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा गरेको थियो ।











प्रतिक्रिया