
काठमाडौं, ३ पुस । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ ।
नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिबन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यसपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।
अहिले चीनको केरुङ हुँदै प्याज आयात भइरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।
संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकिया पूरा भइसकेको छ ।
भारतको प्रतिबन्धपछि बजारमा प्याजको अभाव देखिएको र मूल्य दोब्बर भएको छ । यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर अहिले २ सय रुपैयाँसम्म पुगेको छ ।
चीनबाट प्याज आएपछि एक किलो प्याजको मूल्य ८० देखि ९० रुपयाँसम्म हुने बताइएको छ ।















प्रतिक्रिया