
दाङ, २ पुस । दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर निवासी २० वर्षीय प्रविण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । मोटरसाइकलमा सवार गढवा–६ गढवा निवासी ३९ वर्षीय मोहन कुमार यादव घाइते भएका छन् । घाइते यादवको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यसैगरी रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ हाँसीपुर निवासी २६ वर्षीय करण चौधरीको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया