
काठमाडौं, १ पुसर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताएका छन् ।
आइतबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले राप्रपाको एजेण्डालाई स्थापित गर्न अब पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताएका हुन् । बैठकले ठोस योजना र संकल्प तय गरेर सडक संघर्षलाई अघि बढाउने खाका तयार गर्ने उनले बताए ।
राजसंस्था, हिन्दुराष्ट्रको पक्षधरबीच एकता, सहकार्य आवश्यक र सम्भव रहेको र समान बिचार बोक्नेहरूले चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्न उनले आह्वान गरे ।
आफूहरूको जनदवाबले मुख्य दलहरूलाई सम्झौतामा आउन बाध्य बनाउने उनको दावी छ । अध्यक्ष लिङ्देनले सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गरेको जिकिर गरे ।
दलहरूको गलत मार्गचित्रका कारण देश गलत बाटोतर्फ हिडिरहेको उनको भनाइ छ । बैठकमा महामन्त्री डा.धवलशम्शेर राणाले बृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका छन् ।















प्रतिक्रिया