
पाँचथर, १ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताएका छन् ।
मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको दाबी गरेका हुन् ।
अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताए । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको उनको भनाइ छ । अध्यक्ष ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको दावी गर्दै ओलीले भने, ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’,।
ओलीले अहिले देशको राजनीति अहिले अन्यौलता तर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्तगरे । गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको उनको भनाइ छ । ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ’, ओलीले भने ।
देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गरे । ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’, ओलीले भने।
अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको धारणा व्यक्त गरे । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा उनले जोड दिए । झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गरेका हुन् । उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए ।















प्रतिक्रिया