९ कार्तिक २०८३, सोमबार

डा. गोविन्द केसीद्वारा सत्याग्रहको घोषणा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । विभिन्न माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार बेलुकादेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन उनले माग गरेका छन् ।

त्यस्तै सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै नि:शुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउन उनको माग छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरु कार्यान्वयन नभएकाले सत्याग्रह बस्नुपरेको उनको भनाइ छ । केसीले १०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रमहरु सुरु गर्नुपर्ने माग पनि गरेका छन् ।

उनले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्न,; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने लगायतका माग राखेका छन् ।