
काठमाडौं, २९ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएको अवस्थामा मात्र भ्रष्टाचारमा संलग्न रहेको प्रमाणहरु सार्वजनिक गर्ने दाबी गरेका गरेका छन् ।
केहीदिनअघि प्रधानमन्त्री प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको नामै किटेर भ्रष्टाचारको आरोप लगाएका सिंहले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीले राजीनामा दिए मात्रै प्रमाण सार्वजनिक गर्ने बताएका हुन् ।

‘मसँग चार जना बढीको प्रमाण छ । अदालतको प्रक्रिया हेर्दै छु । प्रमाणहरू सुरक्षित भएपछि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छु । म सार्वजनिक गर्छु, प्रधानमन्त्रीले के राजीनामा दिनुहुन्छ ?’ सांसद सिंहले फेसबुकमा लेख्दै भनेका छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएर आए म पनि प्रमाणहरू सार्वजनिक गर्छु । प्रमाणहरू नरहने र राजीनामा पनि नआउने अवस्था हुन सक्छ । त्यसैले पहिले प्रमाणहरू सुरक्षित गर्ने तर्फ लागेको छु ।’
यसअघि सिंहले प्रधानमन्त्री दाहालकी छोरी गंगाले व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका थिए ।

‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गंगा दाहालले कुन-कुन व्यापारी सङ कुन-कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण म सङ सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’ सिंहले भनेका थिए ।
यता प्रधानमन्त्रीको सचिवालयले भने यसअघिनै तथ्य र प्रमाणविना प्रधानमन्त्रीकी छोरीमाथि लगाइएको आरोपको खण्डन गरिसकेको छ । सचिवालयले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएको आरोपको पुष्टि गर्न चुनौति दिँदै चरित्रहत्या र गाली बेइज्यतीविरुद्ध कानूनी उपचार खोजिने जनाएको थियो ।















प्रतिक्रिया