९ कार्तिक २०८३, सोमबार

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब विप्रेषण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक  प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार  आठ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार  चार सय २८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।