
काठमाडौं, २७ मंसिर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् ।
वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारहरू सम्मेलनमा मन्त्री महतले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका हुन् । केही संरचनात्मक समस्याले पनि अर्थतन्त्रलाई समस्या गरिरहेको उनको भनाइ छ ।
‘समग्रमा आर्थिक अवस्था सुधार भइरहेको छ। रातारात हुने कुरा त होइन। विस्तारै सुधार भइरहेको छ’, उनले भने, ‘हामीमाझ संरचनात्मक समस्या भने छन्। बाह्य ऋण र खर्च व्यवस्थापनका कारण सरकारी ढुकुटीमा चाप देखिएको उनले बताए । सेयर बजार तल भयो भन्ने गुनासो रहेकोमा मौद्रिक नीतिपछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश कार्यान्वयनका क्रममा रहेको उनले बताए । सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्च तर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।
त्यस्तै यस अवधिमा भन्सार महशुलतर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए । मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उनको भनाइ छ ।
उनले विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिए । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको बताए ।
अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उनले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको जिकिर गरे । यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउँदै लगिएको उनले बताए ।















प्रतिक्रिया