
नवलपरासी, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।
नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।”
उनले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपील पनि गरे । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको उनको भनाइ छ । प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिव आउनुभएको प्रसंग स्मरण गर्दै अगाडि भने, “मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो ।”
प्रधानमन्त्रीले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका जानकारी दिए ।
उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।















प्रतिक्रिया