
काठमाडौं, २५ मंसिर । उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षति र ५ पसलमा आंशिक क्षति हुदाँ करिब अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी ७० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोही आगलागीमा ईजिकुल ईन्जिनियरीङ सेन्टर पूर्ण रुपमा नष्ट हुदाँ अन्दाजी ८ लाख, राम उद्गार सहनी माछा पसल पूर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पूर्ण रुपमा नष्ट हुदाँ अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पूर्ण नष्ट हुदाँ ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार शाही होटलमा आंशिक क्षति हुँदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनी साईकल पसलमा ६० हजार र कोसेली घरमा २० हजार बराबरको क्षति पुगेको छ । आगो नियन्त्रणमा लिन ७ वटा पसल स्काभेटर लगाएर भत्काईएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिन सहित बिभिन्न यन्त्र उपकरणहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।















प्रतिक्रिया